साउदीमा रहेका नेपाली कामदारहरूको गुनासो सम्बन्धी सूचना

साउदीमा रहेका नेपाली कामदारहरूको गुनासो सम्बन्धी सूचना

हालै विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालमा साउदी अरबवाट नेपाली कामदारलाई स्वदेश फर्काइदै छ भन्ने समाचार र सूचनाहरूका सम्बन्धमा यस दूतावासको ध्यानाकर्षण भएको छ । साउदी अरबमा हाल केहि कम्पनीहरूमा कायर्रत कामदारहरूले तलब नपाएको गुनासो अइरहेको छ । कतिपय कामदारहरू आफू आएको साविकको कम्पनीमा भनिए अनुसारको तलब सुविधा र काम नपाएको कारण कम्पनी छोडी अवैधानिक भइ वसिरहेको पनि पाइएको छ । यस अवस्थाका नेपाली कामदारहरूले हालको सञ्चार माध्यम र सामाजिक सञ्जालका खवरहरूको आधारमा नेपाल फर्कन पाइने भयो भनी नेपाली राजदूतावासमा अत्यधिक टेलिफोन संवाद गरी चासो राखिरहनु भएको छ । यसलाई नेपाली राजदूतावासले सकारात्मक रूपमा लिएको छ । तथापि साउदीको कफला पद्धतिमा स्वदेश फर्कनको लागि वहिर्गमन भिषा (Exit Visa) आवश्यक पर्दछ । यसै कारण यस अवस्थाका कामदारहरूलाई नेपाली राजदूतावास देहाय अनुसार गर्न गराउन अनुरोध गर्दछ ।

१) हालको सञ्चार माध्यम र सामाजिक सञ्जालमा नेपाल फर्काउने भनिएको विषयमा विगत लामो समयसम्म तलब तथा खाना नपाएका Saudi Oger Co.मा कार्यरत कामदारको हकमा साउदी सरकारले नै खानाको व्यवस्था गर्ने, कामदारको चाहना अनुसार स्वदेश फर्काउने वा कफला स्थानान्तरण गर्ने र वाँकी तलबको हकमा कानूनी सल्लाहकार नियुक्त गरी श्रम अदालतमा मुद्धा लडिदिने भनि निर्देशन भएकोले उक्त कम्पनीमा कार्यरत कामदारहरूलाई दूतावासमा सम्पर्क गरी आ–आफ्नो विवरण नामथर, अकामा नं., पासपोर्ट नं., काम गरेको अवधि, तलब नपाएको अवधि नेपाल फर्कने वा कफला गर्ने चाहना लगायतका विवरण दिन अनुरोध गरिएको हो । सो अनुरोध वमोजिम प्राप्त हुन आएका कामदारहरूको नामावली सहितको विवरण श्रम मन्त्रालय साउदी अरबमा वुझाइसकिएको छ । यस्ता अन्य कामदार छुट हुनु भएको भए क्याम्पमा आउने पदाधिकारी वा दूतावासमा विवरण दिनहुन अनुरोध छ । 

२) सो वाहेक अन्य कम्पनीमा लामो समयसम्म तलब सुविधा नपाएका र करार अवधि नसकिएका कामदारहरूले सम्बन्धित कम्पनीमा लिखित रूपमा पारिश्रमिक भुक्तानीका लागि अनुरोध गर्ने । सो अनुरोध उपर सुनुवाइ नभएमा  कम्पनीवाट पाउनुपर्ने वाँकी तलबको हिसाबको अभिलेख सहित सो को आधारमा नजिकको श्रम अदालतमा वाँकी तलब सहित करार पूरा भएकाहरूले वहिर्गमन भिषाका लागि वा करार अवधि वाँकी रहेकाले चाहना अनुसार कफला स्थानान्तरण वा वहिर्मगन भिषा माग सहितको उजुरी दर्ता गर्ने । कामदारले आ–आफ्नो विवरण नामथर, अकामा नं., पासपोर्ट नं., काम गरेको अवधि, तलब नपाएको अवधि नेपाल फर्कने वा कफला गर्ने चाहना सम्बन्धी विवरण सहित नेपाली राजदूतावासको वेवसाइट www.neksa.org मा रहेको गुनासो फारम भरी पठाउन सक्नुहुनेछ ।(मागिएका विवरण भरी "पठाउनुहोस्" मा क्लिक गर्ने)

३) कम्पनी छोडेका, अकामा नभएका वा अकामाको अवधि सकिएका, कम्पनी वन्द भएका र कम्पनीले अनुपस्थित जनाएका कामदारहरूको हकमा दूतावासको वेबसाइटमा राखिएको गुनासो फारम भरी पठाउन सक्नुहुनेछ । पूर्ण विवरण गुनासाे फारामको नोटमा जनाउन सक्नुहुनेछ ।(मागिएका विवरण भरी "पठाउनुहोस्" मा क्लिक गर्ने)।

४) साउदीमा कानूनी विपरित क्रियाकलाप गरी कुनै न कुनै अभियोग लागि मुद्धा र "मतलुब" भएका कामदारहरूले आ–आफ्नो मुद्धालाई सम्बन्धित निकायमा गइ फर्छ्यौट गर्न प्रयत्न र अनुरोध गर्ने । मुद्धा फर्छ्यौट नभएसम्म नेपाल फर्कन सकिदैन ।

नेपाली राजदुतावास, रियाद ।

2016.08.14

Additional information